प्रहार समाचार । काठमाडौँ, बैशाख ५ । लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई पेप्सीकोलामा गाडीमा यात्रा गरेकै र बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौंमा पेश गर्ने तयारी प्रहरीले गरेको छ । उच्च अदालत पाटनले उनलाई २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
कैद र जरिवानाको फैसला भए पनि उनी फरार थिए ।२०६१ साउन ८ गते ५ ग्राम खैरो हेरोइनसहित काठमाडौंको वनस्थलीबाट पक्राउ परेका लामालाई प्रहरीले लागुऔषध कारोबारीको अभियोगमा मुद्दा चलाएको थियो ।
तर काठमाडौं जिल्ला अदालतले २०६२ जेठ १० गते फैसला सुनाउँदै ५ ग्राम खैरो हिरोइन बिक्री वितरणका लागि पर्याप्त नभएको भन्दै लामालाई लागुऔषधको सेवनमा दोषी ठहर गरी ६ महिना कैदको फैसला सुनायो । फैसलाको समयमा उनी ६ महिनाभन्दा बढी समय हिरासत र कारागार बसिसकेकाले छुटेका थिए । त्यसपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
उनले तत्कालीन समयमा बरामद खैरो हेरोइन बिक्री गर्नका लागि बोकेका बयान दिएका थिए । उनलाई बिक्री वितरणमै दोषीको माग सरकारी वकिल कार्यालयले उच्चमा गरेको थियो । दाबी पुग्ने देखिएपछि उच्चले लामाविरुद्ध पाँच वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । लोकान्तर अनलाइन बाट