प्रहार समाचार । लमजुङ, फागुन १ मंगलवार ।मध्यनेपाल नगरपालिका ६, भोर्लेटारमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम हिंजोसम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरीको सेवा प्रवाहप्रति नागरिकको गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप जनमैत्री बनाउन नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा सहभागी नागरिकले प्रहरी सेवा र शान्ति सुरक्षासँग सम्बन्धित गुनासो तथा सुझावहरु राखेका थिए । उनीहरुले गाउँठाउँमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, सार्वजनिक शान्ति व्यवस्थामा असर पार्ने जस्ता कार्य भइरहेकाले प्रहरीले सक्रियता बढाउनुपर्ने सुझाव राखेका थिए । लागुऔषध दुव्र्यसनी, चोरी, झैझगडा, होहल्लाजस्ता अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीसी क्यामरा जडान गर्न नागरिकले माग गरेका छन् । यस्तै, अन्यत्र मध्यपहाडी लोकमार्ग बनेर सकिए पनि भोर्लेटारमा अझै सुरु हुन नसकेको भन्दै यसतर्फ प्रशासन र नगपालिकाका नेतृत्वले समस्या समाधान गर्न किन नसकेको भनी नागरिकले प्रश्न गरेका थिए ।
कार्यक्रममा उठेका सवालहरुको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रहरी र नागरिकबीचको दुरीलाई नजिक बनाउँदै प्रभावकारी सेवा प्रवाह गर्न नागरिक सुनुवाई गरिएको जानकारी दिए । नागरिकले उठाएका सवालहरुको जवाफ दिने क्रममा उहाँले हरेक नागरिक विनावदीको प्रहरी रहेको र अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले शान्ति सुरक्षा कायम गराउन प्रहरीलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे मध्यपहाडी लोकमार्गका विषयमा पटक–पटक छलफल गर्दा, निर्णय गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै नागरिक स्वयं यसविषयमा जानकार रहेको र नागरिकले भने बमोजिम अघि बढ्न तयार रहेको उनले बताए । शान्ति सुरक्षा र अपराधिक क्रियाकलाप नियन्त्रणका लागि नगरपालिकाले तुरन्तै सीसी क्यामरा जडानकार्य अघि बढाइने प्रमुख पाण्डेले जानकारी दिए।
कार्यक्रमका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनताको समस्या राष्ट्रसेवकको पनि समस्या भएकाले उठान भएका विषयलाई गम्भीर रुपमा लिएको र समस्याको समाधानका लागि पहल गर्ने बताउदै समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विकास निर्माणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए ।
कार्यक्रमको सहजीकरण इलाका प्रहरी भोर्लेटारका प्रहरी सहायक निरीक्षक प्रकाश गैरे र इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख एवं प्रहरी निरीक्षक राजाराम खड्काले गरेका थिए।