• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ, १४ मंसिर २०८१ शुक्रवार । लमजुङको मर्श्याङ्दी गाउँ पालिकाको घनपोखरामा यही मंसिर २४ गते सोमबार देखी २९ गते शनिबार सम्म १७ औं युनाइटेड कप फुटबल प्रतियोगिता तथा विविध सास्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।
तमुहरुको महान पर्व तमु ल्होसार २०८१ को पावन अवसरमा मर्श्याङ्दी गाउँ पालिका वडा नम्बर-२,घनपोखराको केकेम खेलमैदानमा संचालन हुने पुरुष फुटबल प्रतियोगितामा मर्श्याङदी गाउँ पालिका भित्रका वडाका क्लब र खेलाडीलाई मात्र सहभागी गराइने क्लबका अध्यक्ष भक्त बहादुर गुरुङले जानकारी दिए।
पालिका भित्रका खेलाडीहरुको पहिचान गर्न,गाउँपालिका भित्रका युवाहरु विच मैत्रीपूर्ण सम्बन्ध कायम गराउन,खेलाडीहरुको मनोबल बढाउन र खेल पर्यटनको विकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरेको बताइएको छ। विगतका बर्षहरुमा पनि तमु ल्होसारको अवसर पारेर घनपोखरामा महिला तथा पुरुष दुबै तर्फको फुटबल प्रतियोगिता संचालन गर्ने गरिएको भए पनि यस बर्ष पुरुष फुटबल प्रतियोगिता मात्र आयोजना गरिएको क्लबले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ,ट्रफी,मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद ६० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि सेमिफाइनलमा पराजित हुने दुई टिमलाई नगद १५,१५ हजार ,अनुशासीत टिमलाई १० हजार र प्रमाणपत्र,सर्वाधिक गोल कर्तालाई ५ हजार, मेडल र प्रमाणपत्र,सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले प्रहार समाचारलाई जानकारी दिए।
फुटबल खेलमा सहभागी हुन टिम दर्ता शुल्क ८ हजार रुपैयाँ र थप २ हजार रुपैयाँ गरि १० हजार रुपैयाँ राखीएको छ । खेलमा सहभागी हुने खेलाडी सङ्ख्या ९ जना र ३ जना गरि १२ जना हुनु पर्ने र सहभागी टिमले खेलाडीको नागरिकता वा जन्मदर्ताको प्रमाणीत प्रतिलिपी अनिवार्य पेश गर्नु पर्ने आयोजन क्लबले जनाएको छ ।
खेलकुदका साथमा पुरुष तर्फ कालिज टिपाई,महिला तर्फ कुर्ची चाल,घैटो फुटाई,रिले दौड साथै महिला र पुरुष तर्फ डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।
घाँटु कृष्ण चरित्र , पच्यू , घ्याब्रे, लम, साथै तमारो छोरी लगायतका नाच प्रदर्शन गर्ने साथै विभिन्न झाकी तथा सास्कृतिक कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने क्लबका सचिव पुष्पराज गुरुङले बताए ।
कार्यक्रमको बारेमा सम्पर्क गर्नुपरेमा मोबाइल नम्बर ९८४६३१६१८० र ९८६९९४४८३५ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।