उनी तस्बिर हेरेर बेस्सरी रोए आफ्नो छातीलाई बेस्सरी मिचेर । मनको कुनाबाट एउटा मनले खुस्सुक्क चिमोट्यो ।
किन रोयौ?
पसिना चिटचिट छुट्न थाले । मेरुदण्ड हुँदै पसिना बाहिनी नली समेत रन्थनियो । उनलाई असह्य भयो । कान्लामुनि थुचुक बसेर एकछिन घोरिएपछि तस्बिरलाई घाँसको भारीले च्यापेर खोल्सातिर गए । पातीको मुन्टा टिपेर ल्याएर तस्बिरमा स्पर्श गराए अनि एकपटक अधरमा राखेर चुम्न थाले ।
मलाई किन यसरी कैदीजस्तै बनाउँछ्यौ तिमीले? मुटु निचोरिएर आयो उनको । तिमीलाई म रोएको हेर्दा दु:ख छैन है ? – मुस्कुराएको पत्नीको तस्बिर हेरेर सुम्सुम्याउँदै छातीमा चपक्क टाँसे । दैनिक दिनचर्या नै यस्तै थियो उनको ।
घरमा आएर गाइवस्तुलाई घाँसपात गरेपछि पत्नीको तस्बिर लगेर आफ्नै सिरानीमुनि यत्नसँग राखे । गोठभरी लैना बकेर्ना भैंसी अनि हल गोरु ,घरभरी नातिनातिना छोराबुहारी हुँदा पनि एक्लो महसुस भएको थियो उनलाई ।
स्वर्गीय पत्नीको वार्षिकीको अगिल्लो दिन थियो । घर सरसफाइ गर्न चोख्याउन थाले । लुगा धुने घरमा भएका पुराना वस्तु हटाउने काम गर्न थाले छोराबुहारी । आमाको कोठामा भएका आमाले लगाएका कपडा अनि साहित्यिक कृतिहरू र आमाकै कृति पनि दुइटा बोरामा कोचेर फोहोरको डङ्गुरमा जम्मा गरे ।
“यी किताब त नफाल न बाबू हो!- बुढाले मुखै फोरेर भने ।
भोलि आमाको श्राद्ध छ , यी फोहोर कचडा केही राख्ने हैन घरमा । हाम्लाई यी किताब के काम? घर मात्र ढाड !- ठूलो छोराले बाबुको बोली ख्स्न नपाउँदै प्याच्च बोल्यो ।
- तनहुँ ।