प्रहार समाचार । काठमाडौँ । फागुन ३ बिहिवार ।रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रूस तयार भएको छ ।
मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति पाउने भएपछि पिडित परिवारलाई केहि राहत हुने भएको छ । यसअघि रुसले मृतकका परिवारका एकजना सदस्य क्षतिपूर्तिका लागि मस्को नै जानुपर्ने अडान राख्दै आएको थियो ।
क्षतिपूर्तिका लागि रुसमा रहेको नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ । दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउनेछ । अनि जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने मन्त्रालय का प्रवक्ता राईले जनाए । उनका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने किटान भने भएको छैन ।
रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण पनि छैन । रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै दुई सय ५० भन्दा धेरै परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् ।