प्रहार समाचार ।महोत्तरी, मंसिर १२ मंगलबार ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यति बेला पार्टीको गतिविधिलाई मधेसकेन्द्रित गरेको छ । यसै क्रममा महोत्तरी सदरमुकाम जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गरिरहेको छ।
तीन दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक र वैचारिक बाटो तय गर्ने रास्वपाले जानकारी दिएको छ। पार्टी गठनको १७ महिनासम्म पनि राजनीतिक वैचारिक कार्यदिशा तय गरिनसकेको रास्वपाको यो विस्तारित बैठक नीति र विचार निर्माणका दृष्टिले महत्वपूर्ण हुने बताईएको छ।
बैठकले पार्टीको दीर्घकालीन नीति तय गर्नेछ,’ पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले भने। केन्द्रीय समितिको बैठक सुरू गर्नुअघि रास्वपाले तीन मधेसका विभिन्न ठाउँमा सभाको आयोजना गरेको थियो। अधिकांश सभामा पार्टी सभापति रवि लामिछाने पुगेका थिए।
सम्बोधनका क्रममा सभापति लामिछानेले पार्टीलाई त्यहाँका मधेसका मुद्दा र सरोकारसँग जोड्ने प्रयास गरे। सोमबार बिहान सभापति लामिछाने धनुषा र सिरहा जोड्ने कमला पुलछेउ पुगेर सभालाई सम्बोधन गरेका थिए। लामिछानेले मधेस आफ्ना मुद्दामा एक्लै पर्दै आएको बताए। र, त्यही चिर्न आफू मधेस झरेकोसमेत बताए।मधेसका मुद्दा मधेसले मात्रै उठाउने, पहाडका मुद्दा पहाडले मात्रै उठाउने, हिमालको मुद्दा हिमाले मात्रै उठाउने र राजनीतिक रोटी सेकिरहने कामका कारण देशको मुद्दा बनाउन सकेनौं। मधेसलाई देशको मुद्दा बनाउन सकेनौं,’ उनले भने, ‘मधेसका मुद्दा उठाउनका लागि मधेसमै जन्मिएको, हुकिएको बढेको हुनुपर्छ भन्ने छैन। पहाड, हिमाल जहाँ जन्मिएको भए पनि मधेसका मुद्दालाई उठाउनका लागि हामी तयार छौं। हामी प्रतिबद्ध छौं।’ रास्वपाका केन्द्रीय सदस्य मनिष झाले मधेसमा पार्टीलाई बलियो बनाउन गतिविधि केन्द्रित गरेको बताए। मधेसका पनि ओझेलमा परेका क्षेत्रहरूलाई प्रकाशमा ल्याउन त्यहाँ बैठक, भेलाहरू राखिएको बताए ।
एक वर्षअघि भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले ११ लाख ३० हजार ३४४ मत ल्याएको थियो । २०७९ असार ७ गते घोषणा भएको रास्वपा १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो। आगामी मंसिरसम्म महाधिवेशन सुरू गर्नुपर्ने दबाबमा छ रास्वपा।
रास्वपाको नीति तथा विचार विभागले पार्टीको राजनीतिक, वैचारिक खाका कोरेको छ। महामन्त्री मुकुल ढकाल, केन्द्रीय रमेश प्रसाईं र संगठन विभाग सचिव कमल सुवेदीले कोरेको ‘संवैधानिक समाजवादी विचारधारा’को मस्यौदा पार्टीभित्र विवाद भयो। पछि कार्यदललाई विस्तार गरेर चरणचरणमा छलफल चलाइरहेको रास्वपाले जारी बैठकबाट त्यसलाई पूर्णता दिने लक्ष्य राखेको छ।