प्रदार समाचार । काठमाडौं, कार्तिक२१ मंगलबार ।
राष्ट्रपति रामचन्द्र पौडेलले चढेको नेपाली सेनाको हेलिकप्टरमा सुर्खेतबाट एक जना भूकम्पबाट घाइते भएका व्यक्तिलाई थप उपचारकालागि काठमाडौं ल्याइएको छ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई सुर्खेतबाट थप उपचारको लागि राष्ट्रपति चढेको सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।
मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको वास्तविक स्थिति बुझ्न भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए। त्यहाँबाट फर्किनेक्रममा राष्ट्रपति पौडेलले पुनलाई सुर्खेतबाट आफूसंगै थप उपचारको लागि काठमाडौं ल्याइएको राष्ट्रपतिका प्रेस सल्लाहकर किरण पोखरेलले बताए।
जाजरकोटमा गएको भूकम्पबाट १५३ जनाको मृत्यु भएको थियो भने जाजरकोटमा मात्रै १०१ जना र पश्चिम रूकुममा ५२ जनाको मृत्यु भएको थियो।