प्रहार समाचार । मन्थली, चैत १ विहिवार ।रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा भिषण आगलागी भएको छ। आगलागीबाट लाखौंको क्षति हुन पुगेको छ।
आगलागी हुँदा १४ घर र १२ गोठ जल्नुका साथै ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् । नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
आगलागीको खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको तथा अहिले आगो नियन्त्रणमा आएको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बताए । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ