प्रहार समाचार । तनहुँ, १४ मंसिर २०८१ शुक्रवार । नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका उप प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति स्थिरता र स्थायित्व बिना देशको विकास असम्भब रहेको बताएका छन्।
मन्त्री सिंहले आज नयाँ शहर आयोजना कार्यालय डुम्रे भन्सार तनहुँको एकीकृत सरकारी भवनको समुद्वघाटन गर्दै उक्त कुरा बताएका हुन् ।
मन्त्री सिंहले भानुभक्तको जन्म भूमिको छुटै महत्व र विशेषता रहेको चर्चा गर्दै यस भूमिलाई नमूना नगरको रूपमा बिकास गरेर अगाडी बढाउनु पर्नेमा जोड दिंदै भने – ‘ बोलेर भएन काम गरेर देखाउनु पर्ने बेला आएको छ भानुको योगदान विश्व माझ फैलाउनु पऱ्यो ।’ उनले भानुमा रहेको नयाँ शहर आयोजनकालागि मन्त्रालयको तर्फबाट पूरा सहयोग हुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी,जन प्रतिनिधि ,पूर्व जन प्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि,संघ संस्था,सुरक्षा निकाय ,पत्रकार ,आमा समूह,क्लब र राष्ट्रसेवक कर्मचारीको समूपस्थिति रहेको थियो । भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको सभापतित्वमा समान्न उक्त कार्यक्रममा नगर प्रमुख त्रिपाठीले मन्त्री सिंहलाई भानु नगरपालिकाका विविध पूर्वाधारका योजना तथा कार्यक्रमहरुमा आवश्यक बजेट विनियोजन गरि समृद्ध भानु नगर बनाउने कार्यमा सहयोग पुऱ्याउन आग्रह गरेका थिए ।
यस अघि मन्त्री सिंहले भानु ४ , चुँदी रम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थलमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्नुका साथै भानु जन्मस्थल मोटर मार्ग,भानु १ मा रहेको भानु क्षेत्रिय रंगशालाको निरीक्षण गरेका थिए ।