प्रहार समाचार । काठमाडौं , बैशाख १५ । भोलि देखि राजधानी काठमाडौँमा दुई दिने तेस्रो लगानी सम्मेलन हुने भएको छ। सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ ।
सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको छ। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउने लगानी बोर्डको कार्यालयले जनाएको छ।
सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता रहने छ। त्यसैगरी सम्मेलनमा चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् ।
त्यसैगरी, स्विट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलोम्बियाका ३/३ जना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।
त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ ।
दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९/९ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।
पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने जनाइएको छ ।
आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।
सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदै छन् भने सम्मेलन स्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिने लगानी बोर्डले जनाएको छ।