हेडलाईनव्याससमाचारगण्डकी

भादगाउँ सहलगानी खानेपानी आयोजना :  ६ महिना म्याद थप्दा पनि काम सम्पन्न भएन

प्रहार समाचार । तनहुँको व्यास नगरपालिका वडा नं  १ अमिलीभन्ज्याङ डाँडामा रहेको भादगाउँ सह लगानी खानेपानी तथा सरसफाई आयोजनाको काम ६ महिना म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन ।


२०७८ साल भदौ १५ गते सम्झौता भई २०८० भदौ ३० भित्र काम सम्पन्न हुनुपर्नेमा छ महिना म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको हो ।  ठेकेदार कम्पनीको ढिलाईका कारण उक्त आयोजना सम्पन्न हुन नसकेको भादगाउँ सहलगानी खानेपानी आयोजनाका अध्यक्ष चिजबहादुर दरैले बताए । ‘ छ महिना थपेको म्यादभित्र ७५ प्रतिशत  काम सम्पन्नभएको अझै २५ प्रतिशत काम हुन बाँकी नै छ ‘  अध्यक्ष दरैले भने ।
१६ करोड १५ लाखको बजेटमा निर्माण सम्पन्न हुने उक्त आयोजनाका लागि  कुल बजेट मध्ये ७० प्रतिशत नेपाल सरकारको र ३० प्रतिशत उपभोक्ता संस्थाले बेहोर्ने जस अन्तर्गत पाँच प्रतिशत उपभोक्ताबाट संकलन गरिएको र बाँकी २५ प्रतिशत नगर विकास कोषबाट सहुलियत ऋण लिएर  आयोजना अगाडि बढाइएको आयोजनाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए ।

उक्त आयोजना पराजुली कन्स्ट्रक्सन  प्राली भोर्लेटार लमजुङले ठेक्का पाई काम अगाडि बढाइरहेको छ । झन्डै छ रोपनि क्षेत्रफलमा सेडिमेन्टेसन ट्यांकी फिल्टर ,स्लो स्ट्यान्ड फिल्टर निर्माण सम्पन्न भएको तथा पानी रिजर्भ ट्याङ्कीको काम भइरहेको छ। त्यहाँबाट पानी फिल्टर भएर शुद्ध पानी ४ लाख घनमिटर क्षमताको ट्यांकीमा जम्मा  गरिने छ। व्यास नगरपालिकाको वडा नम्बर १० मादी नदीको सतहबाट ३० फुट गहिराईको इनारबाट पानी विद्युतीय पम्पको सहायताले ट्यांकीमा जम्मा गरिनेछ। त्यसपछि प्रति सेकेन्ड २६ लिटर पानी आपूर्ति गरिने र २ सय  एमएमको पाइपबाट १ हजार ६ सय १७ घरधुरीमा थप पानी वितरण गर्ने उद्देश्य आयोजनाले राखेको छ। फिल्टर भएको पानीलिफ्टिङ गरी व्यास १ को भद्रुडाँडामा ५० हजार लिटरको ट्याङ्कीमा जम्मा गरी व्यास १ को अम्रेरी, मुसेखोला तालघरे तथा व्यास १२ को केही क्षेत्रमा पानी वितरण गरिने लक्ष्य आयोजनाले राखेको छ। अहिलेसम्म शाखा लाइनमा पाइप बिछाउने कार्य सम्पन्न गरी मुख्य लाइनमा सिन पाइप बिछाउने कार्य अन्तिम चरणमा पुगेको तथा चार सय घनामिटर क्षमताको रिजर्भ टयाङकी निर्माण कार्य सुरु गरिएको   संस्थाका अध्यक्ष चीजबहादुर दरैले बताए । ‘आउँदो वैशाख महिनादेखि उपभोक्तालाई घरघरमा पानी वितरण गर्ने संस्थाको लक्ष्यलक्ष्यमा केहि ढिलाई हुने देखिएको छ’ उनले भने ।

 

२०५६ सालमा स्थापना भई ५२ सार्वजनिक धाराबाट सुरुवात भइ हालसम्म २६ सय ८० निजी धारा जडान गरी संस्थाले पानी उपलब्ध गराउँदै आएको छ। पानी अभावमा १ देखि डेढ घण्टा मात्रै पानी छोडिने गरिएको छ । पानीको अभावमा   संस्थाले विगत डेढ बर्ष देखि माग अनुरूप पानीका धाराहरू जडान गर्न नसकिएको छैन । कार्यालयमा झन्डै ३ सय बढि नयाँ धारा जडानको लागि निवेदन सङ्कलन गरिएको आयोजनाले जनाएको छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button