विचारबन्दीपुरगण्डकीसाहित्य

ब्रह्मदत्त भट्टराईको चिनारी : कृष्णराज वाग्ले

तनहुँ बन्दीपुुरका सनातन धर्मका अनुयायी गणेशदत्त भट्टराईका जेष्ठ सुपुत्र ब्रह्मदत्त भट्टराई प्रचारमा आउन नचाहने तर धर्म साधना र ज्ञान साधनामा अत्यन्त खारिएका व्यक्तित्व हुनुहुन्छ । एक पटकको कुरा हो । उहाँ एक जना इष्टमित्रको विशेष अनुरोधमा उनको छोरोका ब्रतबन्ध गराउन जानु भएछ । त्यहाँ सहभागीका रुपमा उपस्थित तनहुँकै अर्का विशिष्ट विद्वान् तथा दमौलीको महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयका संस्थापक मध्येका एक दर्शनाचार्य, बी.ए. बी.एड. स्वर्गीय हरिशरण न्यौपाने ब्रह्मदत्तज्यूको व्रतबन्ध गराइदिने क्षमता र कला देखेर मन्त्रमुग्ध हुनुभएछ । त्यसपछि उहाँले भट्टराईलाई आफ्ना नातिको पनि व्रतबन्ध हुन लागेकोले यसरी नै व्रतबन्ध  सुसम्पन्न गराइदिने कार्यभारको जिम्मेवारी लिइदिन विशेष अनुरोध गर्नु भएछ । समयको अनुकूलता अनि मूहुर्त सबैलाई विचार गर्दा चार महिना पछि मात्र ब्रह्मदत्त भट्टराईले व्रतबन्ध गराइदिन सक्ने अवस्था रहेछ । हरिशरणज्यूले भन्नु भो रे, “म जति भने पनि कुर्न तयार छु ।” आखिर चार महिना पछि ब्रह्मदत्त भट्टराई आचार्य बनेर हरिशरणज्यूको नातिको व्रतबन्ध सम्पन्न गराइदिनु भयो ।
यो प्रसङ्गको उठान गर्दा मेरै छोरो सुशीलप्रसाद वाग्लेले पनि उहाँको विद्वत्तालाई नजिकबाट अनुभव गर्ने अवसर पाएको रहेछ । उसका अनुसार आज भन्दा लगभग १५ वर्ष अगाडि जनै पूर्णिमाको अवसरमा दमौली पञ्च मन्दिरमा जनै अभिमन्त्रित गर्ने कार्यक्रममा लगभग डेढ घण्टासम्म भट्टराईले मुखाग्र मन्त्रहरू भनेर एक्लैले जनै अभिमन्त्रित गर्ने कार्यक्रम सम्पन्न गराइदिनु भएछ । 


सनातनी ब्राह्मणले संस्कृत भाषामा रचना भएका एक हजार श्लोकसम्मका पुस्तक त कण्ठ नै गर्नुपर्दछ भन्ने मान्यता उहाँ राख्नुहुन्छ । शुक्लयजुर्वेद अप्राप्य भएको अवस्थामा कुनै मित्रबाट मागेर ल्याइ आफैँले सारेर राख्नु भएको थियो । मैले एकपटक कतै यो श्लोक देखेँ
मरुस्थल्या यथा वृष्टि क्षुधार्ते भोजनं यथा
दरिद्रे दीयते दानं सफलं पाण्डुनन्दन
पाण्डुनन्दन भन्ने शब्दले मलाई यो श्लोक गीताको हो कि जस्तो लाग्यो । मैले उहाँलाई सोधेँ उहाँले भन्नु भयो गीता मलाई कण्ठै छ । यो श्लोक गीतामा छैन । हितोपदेशमा हेर्नू । नभन्दै यो हितोपदेशको श्लोक रहेछ ।
दमौलीमा सेवा निवृत्त जीवन बिताउँदा उहाँले ज्योतिष शास्त्रको अधिकाधिक परिशीलन गर्नुभयो । उहाँको ज्ञानबाट धेरै व्यक्ति लाभान्वित भएका थियौँ । उहाँको सामिप्यता र सङ्गतबाट यस क्षेत्रका धेरैले लाभ लिए । विद्वान् कहलाए । लगभग पाँच छ वर्ष भयो उहाँ काठमाडौँ बसाइँ सर्नुभयो । संस्कृत जस्तै अङ्ग्रेजी भाषामा पनि उहाँको विशेष दख्खल रह्यो । उहाँको बौद्धिक श्रम शिव पाञ्चायन मन्दिर परिसर, कर्मचारी मिलन केन्द्र दमौली, गोरखकाली आवासीय माध्यमिक विद्यालय, महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा राम्रैसँग भिजेको हो । अतः यी संस्थाहरूले उहाँलाई सम्मान गर्नु वाञ्छनीय देखिन्छ ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button