प्रहार समाचार । हेटौडा, माघ ७ आइतबार ।
पूर्वराजा ज्ञानेन्द्र शाहले हेटौंडाको गुम्बा र मन्दिरमा पूजा गरेका छन्। उनलेआइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ को गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा पुगेर पूजा गरेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र ज्याङछुप्लीङ पोताल गुम्बामा बौद्ध धार्मिक परम्परा अनुसार र हेटौंडा भुटनदेवी मन्दिरमा हिन्दु धार्मिक विधि अनुसार पूजा गरेका हुन्। गुम्बा र मन्दिरमा पूर्वराजा शाहको समर्थनमा सर्वसाधारणको बाक्लो भिड लागेको थियो । त्यस अबसरमा राप्रपा र राप्रपा नेपालका कार्यकर्ताले राजाको समर्थनमा नाराबाजी गरेका थिए ।
राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको नेतृत्वमा गठित समितिले शाहको स्वागत सम्मान गरिएको थियो ।
पूर्वराजाको स्वागतका लागि राप्रपाका सांसद सिंहको संयोजकत्वमा एक हजार ११ सदस्यीय समिति गठन भएको थियो । शाहको स्वागतका लागि राप्रपाका नेता एवम् प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य लगायतका नेताहरु समेत हेटौंडा भेला भएका थिए।