प्रहार समाचार । लमजुङ २४ असार २०८१ । बाइसे चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । लमजुङको बेशिसहर गाउँपालिका–३ गाउँसहरमा रहेको सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको विभागका इन्जिनियर गोविन्द अधिकारीले बताए । अधिकारीले हाल सम्म दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।
दरवार गतवर्ष बाट एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा ५० लाख मात्रै बजेट छुट्टाएको थियो । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनर्निर्माण पनि सँगसँगै भइरहेको उनको भनाई छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको छ।
गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त देखिएको बताए ।
उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रूपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएपछि पुरानै शैलीमा पुरातत्त्व विभागले निर्माण गर्न लागेको हो । दरबार पुनः निर्माणको काम अगाडी बढेपछि स्थानिय बासिन्दाहरु हर्षित रहेको बेशिसहरका मिलन शर्मा दनाईले बताए ।
उनि भन्छन् ” दरबार पुनः निर्माणको काम सम्पन्न भएपछि पर्यटन व्यवसायमा उल्लेख्य प्रगति हुने विश्वास लिइएको छ।