प्रहार समाचार । काठमाडौँ, मंसिर २४ आईतबार । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औं संस्करण सुरू भएको छ।
शनिबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धनका लागि फिल्म प्रभावकारी माध्यम बन्ने बताए।
समारोहमा बल्दै मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले कलाका विभिन्न विधामा अध्ययन, अनुसन्धान, शिक्षा, संवाद र नितिगत पैरवीसाग सम्बन्धित अभियानहरू मावन अधिकार चलचित्र केन्द्रले आफ्नो स्थापना कालदेखि नै नियमित गर्दै आएको बताए । महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरु देखाइनेछ।
महोत्सवमा नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, अयारल्याण्ड, किर्जिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मत चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ। महोत्सव मंसिर २६ सम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ।