प्रहार समाचार । काठमाडौँ, फागुन १८ शुक्रवार । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ।नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो। अन्तिम ओभरमा नामिबियालाई १२ रन चाहिदा नेपालका करण केसीले ८ रन मात्र खर्चिए।
यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो। अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ। अब शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ। फाइनल मंगलबार हुनेछ। खेलमा दीपेन्द्रसिंह ऐरीले दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। दीपेन्द्रले १६औं ओभरको पहिलो र दोस्रो बलमा नामिबियाको चौथो र पाँचौ विकेट लिए। दीपेन्द्रले जेजे स्मिथलाई ५० रनमा अनिल साहबाट र जान निकोललाई सन्दीप जोराबाट क्याच गराए।
अर्को ओभरको पहिलो बलमा अभिनास बोहराले जान फ्राइलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो। त्यसअघि १५औं ओभरमा करण केसीले २३ रन खर्चिदा नेपालमाथि दबाब परेको थियो। तर दिपेन्द्र र अभिनासले उत्कृष्ट बलिङ गर्दै नेपालमाथिको दबाब कम गरे।- सेतोपाटी बाट