• विजय अधिकारी/ लमजुङ संवाददाता । लमजुङ ३ साउन २०८१ बिहीबार । लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर – ७ , पाउँदीमा १०८ फिट आग्लो ” कर्मदा नदिका शिवजी ” सिद्धेस्वर महादेवको विशाल मुर्ति निर्माण कार्य सम्पन्न भएको छ ।
कर्मदा नदिका शिवजी महादेव मन्दिर संरक्षण समितिको नाममा रहेको ११ रोपनी जग्गामा महादेवको मुर्ति सहित गणेश , बिस्णु , शिवको बहान बसाहको मुर्ति समेत निर्माण गरिएको समितिले जनाएको छ । मर्श्याङ्दी ” कर्मदा ” नदि नजिकै धार्मिक र पर्यटन क्षेत्र बनाउनका लागि काठमाडौ र पोखरा बाट कालिगढ ल्याएर रु २ करोड ५० लाखमा महादेवको मुर्ति निर्माण सम्पन्न गरिएको समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोख्रेलले बताए ।
मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ पानीका धारा निर्माण गर्न लागिएको छ ।धाराको लागि पर्खाल निर्माण गर्ने काम पनि सम्पन्न भइसकेको छ । धारामा पानीको लागि लमजुङको राइनास नगरपालिका वडा नम्बर – ९ , मोहोरिया कोटबाट करीब ६ किलोमिटर टाढा देखि पानी ल्याउने काम भइरहेको छ । हाल सम्म करीब २ किलोमिटरमा पाइप बिछ्याउने काम सम्पन्न गरिएको छ । पानी जम्मा गर्नका लागि धारा निर्माण स्थल नजिकै १ लाख लिटर भन्दा बढी पानी अट्ने एउटा पानी ट्याङ्कीको पनि निर्माण कार्य सम्पन्न भएको उपाध्यक्ष पोख्रेल बताउँछन् ।
पोख्रेलका अनुसार धारा तथा शिवलिङ्ग व्यक्तिको नाम र पितृहरुको नाम राखीने र यसका लागि न्युनतम रु. ११ हजार १ सय ११ तिर्नु पर्ने छ । बाँकी काम आगामी असोज महिना भित्र सम्पन्न गरिने र आगामी ठूलो एकादशिका दिन समुदघाटन गर्ने तयारी भइरहेको छ ।
समितिका अनुसार महादेवको मुर्ति स्थापनाको लागि हाल सम्म १४ लाख भन्दा बढी चन्दा संकलन भएको छ । यस धार्मिक स्थलमा विभिन्न ठाउँ बाट स्नान गर्न , सतविज छर्न , ठुलो एकादशी पर्वमा ठुलो मेला लाग्ने भएका कारण लाखौं भक्तजन आउने गर्दछन् ।
लमजुङ र तनहुँको सिमाना तथा डुम्रे बेसीशहर सडक नजिकै पर्ने ठाउँमा धार्मिक पुर्वाधार निर्माणले यहाँका व्यापार व्यबसायमा समेत टेवापुग्ने गरेको स्थानीयले बताए ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला यो ठाउँ राष्ट्रिय गौरवको योजना मध्यपहाडी लोकमार्गको नजिक पर्ने र महादेवको मुर्ति १०८ फुट अग्लो ,शिवलिङ्ग र १०८ धारा निर्माणले धार्मिक रूपमा मात्र नभइ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने बताउँछन्।