प्रहार समाचार । तनहुँ, माघ ३ मंगलबार । तनहुँको व्यास नगरपालिकाले भुकम्पबाट बच्ने उपायको बारेमा जानकारी दिन मङ्गलबार दमौलीमा भुकम्पीय सुरक्षा सचेतना सभा गरेको छ ।
‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा सभा गरिएको हो । सभाको गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्दै नेपालीले ठुला ठुला घर निर्माण गरेर अनुत्पादक क्षेत्रमा लगानी गरिरहेकाले यसको अन्त्य गरिनु पर्ने बताए ।
नयाँ नयाँ प्रविधि अनुसार कम मूल्यमा सुरक्षित घर बनाउन सकिने भएपनि नेपाली करोडौं खर्च गरेर घर बनाउने गरेको सांसद श्रेष्ठलेको भनाई थियो । सांसद श्रेष्ठले भने – ‘एकतिर ठुलो रकम घर बनाउन खर्च भएको छ भने भुकम्पको जोखिमले गर्दा त्यहि घरले ज्यान जान सक्ने अवस्था छ ।’ नयाँ प्रविधि अनुसार २० देखि २५ लाखमा सुविधा सम्पन्न भुकम्पीय जोखिम नभएको घर बनाउन सकिने भएकोले करोड खर्च गर्ने गरि घर बनाउन नहुनेमा सांसद श्रेष्ठले जोड दिए ।
कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले घर नक्सा नबनाई घर बनाउन हुँदैन भनेर सचेतना फैलाउने हो भने जोखिम कम हुने बताउँदै भुकम्प प्रतिरोधी घर हुने गरी भवन निर्माण आचार संहिता बनाएकोले नक्सा बनाएर मात्रै घर बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमु्ख जिल्ला अधिकारी जनार्दन गौतमले नेपालमा सचेतनाको कमी भएकोले भुकम्पले धेरै क्षति पुग्ने गरेको बताउँदै सरकारी निकाय एक्लैले मात्र भुकम्पबाट बच्ने सचेतना कार्यक्रम गर्दा प्रभावकारी नहुँदा सबैको सहभागितामा सचेतनालाई व्यापकता दिनु पर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रीय सदस्य तथा तनहुँका शाखाका सभापति प्रा.डा.कृष्णप्रसाद गौतमले भवन निर्माण आचार संहितालाई कडाईका साथ लागू गर्ने पर्ने , जनमानसलाई सचेतना दिने कार्यक्रमलाई व्यापकता दिने तथा निर्माण व्यवसायीले झारा टार्ने गरी काम गर्न नहुने बताए । सभामा भुकम्प प्रतिरोधी घर बनाउँदा हुने फाइदा, भुकम्प आएपछि जोगिनको लागि अपनाउने सुरक्षाको उपाय आदिको बारेमा इन्जिनियर रविन्द्रलाल मुलले जानकारी दिएका थिए । त्यस अबसरमा सहभागीले ‘म भुकम्पीय जोखिम सुरक्षित हुने उपायहरु सिक्ने छु , सबै सदस्यलाई सिकाउने छु , मैले घर भुकम्प प्रतिरोधी बनाउँछु, र मेरो समुदायमा भुकम्पीय जोखिम न्यूनीकरण सम्बन्धि जनचेतनामा लाग्नेछु ‘ भनि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
सचेतना कार्यक्रममा भूकम्प आफैले मान्छे नमार्ने तर मान्छेले नै बनाएको संरचनाले मार्ने हुनाले क्षति न्युनीकरणको लागि भवन निर्माण संहिता अनुसार घर बनाउनुपर्ने र संरचनात्मक तथा गैरसंरचनात्मक जोखिमलाई कम गर्नको लागि भूकम्पीय सुरक्षाका उपायहरु अपनाउनुपर्ने कुरालाई व्याख्या गरिएको थियो । कार्यक्रममा व्यास नगरपालिकाको भूकम्पीय जोखिम सम्बन्धी परिदृष्य तथा जोखिम न्यूनीकरणमा व्यास नगरपालिकाले चालेका कदमहरुको बारेमा क्रमशः ई. श्री रविन्द्र लाल मुल र ई. अमृत के.सी.ले प्रस्तुती दिएका थिए । कार्यक्रमको सहजिकरण ई. सुवास गौतमले गरेका थिए ।