प्रहार समाचार फागुन १९ शनिवार । किर्तिपुर क्रिकेट मैदानमा आज भएको त्रिदेशीय टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्ड्सविरूद्ध ६ विकेटको सानदार जित हात पारेको छ।नेदरल्याण्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो।
नेपालका लागि कुशल मल्ल २ र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर नट आउट रहे। त्यसअघि कप्तान रोहित पौडेलले ४६ रनको योगदान गरे। १४.३ ओभरमा भिभियन किंग्माबाट आउट हुनुअघि उनले ३४ बलमा ३ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै आर्यन दत्तबाट बोल्ड हुनुअघि गुल्सन झाले ३८ रन जोडे । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।त्यसअघि ओपनर कुशल भूर्तेल र आशिफ शेख तेस्रो ओभरमा आउट भएका थिए। ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सका भिभियन किंग्माले भान देर गंग्टेनबाट क्याच आउट गराए। किंग्माले पाचौं बलमा आशिफलाई बोल्ड गरेका थिए।
८ बल खेलेका कुशलले १ चौका र १ छक्का प्रहार गरी १२ रन बनाउँदा ८ बल खेलेका आशिफले १ चौका प्रहार गरी ८ रन जोडेका थिए।