दमौली खबर संवाददाता
दमौली, भदौ २१ गते
तनहुँमा भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढेको छ । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने तथा आँखा पाक्ने समस्या भएका विरामी बढीरहेका छन् । सदरमुकाम दमौलीका अतिरिक्त आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मूख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा विरामी बढेका हुन् ।
उपचार आउने विरामी मध्ये ८० प्रतिशत भन्दा धेरै भाईरल ज्वरोका आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौली वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो । दैनिक ५० जना भाइरल ज्वरका विरामी आउने गरेको उहाँले बताउनुभयो । बासी सढेगलेका खानेकुरा नखाने, उमालेको पानी पिउने, हरियो सागपात, झोलिलो खानेकुरा प्रशस्त खाने, विरामीसँग भौतिक दुरी कायम राखी बस्नु पर्ने, खानाखाजा खानु अघि साबुन पानी हात धुनुपर्ने चापागाईले जानकारी दिनुभयो । विरामीको चाप बढेकाले दैनिक एक घण्टा सेवा अवधि बढाएर उपचार गर्ने गरिएको चापाईगाईले बताउनुभयो । दश बजे देखि दुइ बजे सम्म विरामीको नाम दर्ता गर्ने गरिएकोमा तीन बजे सम्म कायम गरी एक घण्टा थपिएको चापागाईले बताउनुभयो ।
हाल पहिले झण्डै दोब्बर बढी विरामी बढेकाले उपचार गर्न भ्याई नभ्याई भएको दमौली स्थित दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले जानकारी दिनुभयो । हाल दैनिक ३०० जना बढी विरामी आउने गरेका र त्यसमा अधिकांश रुघा, खोकी, ज्वरो, टाईफाईटका विरामी धेरै भएको बरालले जानकारी दिनुभयो ।
दैनिक करीव तीन सय भन्दा बढी विरामी उपचारको लागि आउने गरेको त्यसमध्ये करीव दुई सय जना भाईरल फिवरका विरामी आउने गरेको शुक्लागण्डकी नगरपालिका बेलचौतारा स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । शरीर भारी हुने, शरीर दुख्ने, टाउँको,आँखाको गेडी दुख्ने, ज्वरो आउने, शरीर आलस्या हुने लगायतका समस्या भएका भाईरल फिवरका विरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । डा. श्रेष्ठले भन्नुभयो, भाईरल ज्वरका बिरामी बढेका छन् म आफै पनि बिरामी भए ।’’ आँखा पाक्ने विरामीको पनि चाप बढेको उहाँले जानकारी दिनुभयो ।
आँखा पाक्ने रोगका बिरामी भने एक महिना अघि देखि नै बढ्दै गएका छन् । परिवारको एक जना सदस्यलाई सङ्क्रमण भएमा पुरै परिवारका सदस्य सबै विरामी पर्न थालेकाले आँखाका विरामी बढेका हुन् । जिल्ला स्तरीय दमौली अस्पतालमा सञ्चालित गोवर्धन शर्मा मेमोरिल आँखा उपचार केन्द्रमा आँखा पाक्ने रोगका विरामीको भिड लाग्ने गरेको छ । एक महिना अघि देखि दिनहुँ भीड लागेको नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिनुभयो । पहिले भन्दा आँखाका विरामी तेब्बर बढी आउने गरेको उहाँले जानकारी दिनुभयो । चौधरीले भन्नुभयो, ‘‘पहिला ३० जनाको हाराहारीमा आउने गरेको हाल एक सय पाँच भन्दा धेरै विरामी आउछन् ति मध्ये ८० प्रतिशत भन्दा धेरै आँखा पाक्ने समस्या छन् ।’’ सरुवा रोग भएकोले बिरामीमध्ये धेरैजसो एकै परिवारका सदस्य पनि रहेको चौधरी बताउनुहुन्छ । साना बालबालिकादेखि युवा र वृद्ध सबै उमेर समूहका व्यक्ति सङक्रमित भएको पाइएको केन्द्रका नेत्र सहायक सन्जु सुनारले जानकारी दिनुभयो । विरामीको चाप बढेपछि तनहुँका सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा आँखा उपचारको लागि समयअवधि बढाइएको छ । आँखा पाक्ने समस्या फैलिदै गएपछि त्यसलाई मध्यनजर गर्दै उपचारको लागि समयअवधि दुई घण्टा बढाएको हो । प्रकोप रोक्नका लागि आँखाको सरसफाइ, चस्माको प्रयोग र भीडभाडमा नजान स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ । भाइरल कन्जक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग जिल्लामा फैलिएकोले सर्तक रहन आग्रह गरिएको वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । प्रकोप रोक्नका लागि आँखाको सरसफाइ, चस्माको प्रयोग र भीडभाडमा नजान स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ । आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्नेआँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने÷दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने जस्ता समस्या देखिएको स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो । आँखाका बिरामीले सामान्य चेकजाँचपछि घरमै बसेर उपचार गर्न सकिने हुँदा सङ्क्रमितका बिरामी भिडभाडमा नजान आग्रह कार्यालयद्धारा गरिएको छ । भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भएकोले सर्तक रहन आग्रह गरिएको हो । कार्यालयले सङक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र सङ्क्रमित व्यक्ति भिडभाडमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने, जथाभावी आँखा नछुने, आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने गर्नु पर्ने जनाएको छ ।