प्रहार समाचार । तनहुँ, ११ असार २०८१ । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१ /८२ का लागि २ अर्ब ४ करोड ९३ लाख ६७ हजार रुपैयाँ बराबरको प्रस्ताविक बजेट प्रस्तुत गरेको छ। व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा १४ वटै वडाअध्यक्ष, सदस्य तथा नगर कार्यपालिकाका पदाधिकारी लगायतको उपस्थितिमा आर्थिक वर्ष २०८१ /८२ का लागि नगर उपप्रमुख इन्दिरा दरैले उक्त प्रस्ताविक बजेट प्रस्तुत गरेकी हुन्।
उपप्रमुख दरैले चालुतर्फ ४६ दशमलव ७१ प्रतिशत अर्थात् ९५ करोड ७३ लाख ५६ हजार र पुँजीगत तर्फ ५३ दशमलव २९ प्रतिशत अर्थात् १ अर्ब ९ करोड २० लाख २० हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा आगामी वर्ष १ सय६० घरलाई वातावरण मैत्री चुलो वितरणका लागि रकम विनियोजित गरिएको छ।
लेखापाल , कार्यालय सहयोगि र बाल विकासका शिक्षकलाई प्रोत्साहन :
बजेटले सामुदायिक विद्यालयमा रहेका लेखापालको तलबमा मासिक ४ हजार ,कार्यालय सहयोगीलाई मासिक ६ हजार ५ सय, बाल विकास शिक्षकलाई मासिक ७ हजार १ सय थप पारिश्रमिक दिने व्यवस्था मिलाइ प्रोत्साहनको उपप्रमुख दरै जानकारी दिइन्।
बहुउद्देश्यीय भवन तथा वडा कार्यालयको भवन निर्माणमा जोड :
नगर उपप्रमुख इन्दिरा दरैले नगरपालिकाको प्रशासकीय मुख्य कार्यालय निर्माण हुन बाँकी वडा कार्यालयको भवन निर्माणका लागि आवश्यक रकमको व्यवस्था मिलाएको जानकारी गराइन्। यसैगरी यस वर्ष सम्पन्न भएका र चालु रुपमा रही भुक्तानी हुन बाँकी योजनाको भुक्तानीका लागि रकमको व्यवस्था गरेको समेत उल्लेख गरेकी छन् ।
कृषि र पर्यटनलाई प्रार्थमिकता :
प्रस्तावित नीति तथा कार्यक्रममा एकीकृत सहरी विकास आयोजनामा , कृषि , पर्यटन , शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
‘विविधतायुक्त गाउँशहर समृद्ध मेरो व्यास नगर’ :
विविधतायुक्त गाउँशहर समृद्ध मेरो व्यास नगर भन्ने मूल नारालाई प्रस्तावित नीति तथा कार्यक्रममा जोड दिइएको छ। यस नारालाई सार्थक पनि नगरपालिकाले दीर्घकालीन सोचलाई पूर्णता दिन नगरपालिकाका निर्माणको अग्रणी आधार कृषि , पर्यटन , शिक्षा ,स्वास्थ्य , सिर्जनात्मक मानव पुजी निर्माण तथा विकास र सुशासनसुशासनमा जोड दिइएको छ ।
आगामी बजेटमा आर्थिक विकासतर्फ ५ करोड ५ लाख ६ हजार,सामाजिक विकासतर्फ ६८ करोड १९ लाख ६५ हजार,पूर्वाधार विकासतर्फ ९८ करोड २६ लाख ३५ हजार तथा विपद व्यवस्थापन तर्फ ८ करोड ३३ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ २४ करोड ९ लाख २० हजार समेत जम्मा २ अरब ४ करोड ९३ लाख ७६ हजार प्रस्ताविक बजेट बिनियोजन गरिएको छ। यसै गरि सामाजिक सुरक्षा भत्ता लगायत संघीय कानुनी प्रकृयाबाट भुक्तानी हुने रकम ३० करोड ३५ लाख २० हजार हुने अनुमान रहेको छ।
करको दायरा फराकिलो पार्दै :
व्यास नगरपालिका क्षेत्रभित्र रहेको करको दायरा हेरफेर गरी करको दायरा फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्ने कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिएको छ। कर तथा गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ
सेवा शुल्क र दस्तुर करको दायरा पनि फराकिलो :
यसैगरी व्यास नगरपालिकाले सेवाशुल्क र दस्तुरकर व्यवसाय कर सम्पत्ति कर एवं भूमिकर , घर नक्सा पास दस्तुर ,खनिज जन्य ढुङ्गा , गिटी , ग्राभेल , रोडा , कटिङ ढुङ्गा , कबाडी सामान र काठ आदिमा लिइने दस्तुरको दायरा फराकिलो पारिनुका साथै प्रदेश कानुनमा उल्लेख भएको सोही अनुसार र प्रदेश कानुनमा उल्लेख नभएको विषयमा नगरसभाले तोके बमोजिम कर निर्धारण गरिने प्रस्ताव गरिएको छ।
कृषकहरुलाई अनुदान :
नगरपालिकाले कृषि व्यवसायसँग सम्बन्धित पशुपंक्षी ,माछा , फलफुल , तरकारी, दुध आदिमा स्थानीय उत्पादनमा लाग्ने निकासी करलाई व्यवस्थित गर्ने प्रस्ताव पेश गरेको छ। यसका साथै दूध सहकारी संस्था मार्फत बिक्री हुने दुध र सहकारी मार्फत बिक्री हुने खसी बोकामा दिइँदै आएको उत्पादन अनुदान दुधमा प्रति लिटर २ रुपैयाँ र खसी बोकामा प्रति किलो २० रुपैयाँ किसानलाई अनुदान दिइने प्रस्ताव गरिएको छ।
तनहुँको व्यास नगरपालिकाको बेरुजु ३८ करोड :
तनहुँको व्यास नगरपालिकामा बेरुजु घट्ने संकेत देखिएको छैन। बेरुजु दिनप्रतिदिन बढ्दै जान थालेको छ। साविकमा महालेखा परीक्षाको कार्यालयद्वारा लेखा परीक्षण सुरु भएदेखि विगत आर्थिक वर्षसम्मको सम्पूर्ण बेरुजु रकम चेक जाँच तथा जोड जम्मा गर्ने कार्य गरी महालेखा परीक्षण मात्रै ४० करोड ६२ लाख ८१ हजार४ सय५४ रुपैयाँ रहेको छ।
जसमध्ये पेशी फर्छौट र असुल उपर भइसकेको रकम ८ करोड२९ लाख १५ हजार ८ सय४१ रुपैयाँ रहेको छ भने ३२ करोड ३३ लाख ६५ हजार ६ सय १३ रुपैयाँ ४४ पैसा रह आर्थिक वर्षदेखिको अन्तिम बाँकी बेरुजु रकम रहेको छ। बाँकी बेरुजु र आथिक वर्ष २०७९/०८० को म.ले.प.प्रतिवेदनबाट कायम हुन आएको बेरुजु ५ करोड ६७ लाख ८६ हजार ७६२ रहेको छ।
यसरी व्यास नगरपालिकाको कुल बेरुजु ३८ करोड १ लाख ५२ हजार ३७५ रुपैयाँ ४४ पैसा रहेको देखिएको व्यास नगरपालिका लेखा समितिका संयोजक एवं व्यास २ का वडाअध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए ।