प्रहार समाचार | चितवन, मंसिर २ शनिबार । चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेका छन्। घटना छानबिन गर्न सरकारले समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।
छ वर्षको गैँडा तीन दिन र १८ वर्षको गैँडा मारिएको १० दिन पछि वन तथा वातावरण मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको हो।मन्त्रालयले सचिवस्तरीय निरर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहेका छन् ।
उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताए । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उनको भनाइ छ ।
गत बिहीबार निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै गैँडा मृतावस्थामा भेटिएका थिए ।