प्रहार समाचार । बुटबल , बैशाख ४ । बुटबलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडित हरुले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् ।
बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब स्वरूप प्रदर्शनमा उत्रिएका हुन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न समेत जोडदार माग गरेका हुन् ।
बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार लामिछाने माथि छानबिनको माग गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा प्रमाण समेटेर रवि लामिछानेले सहकारीबाट दुइ करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ ।
रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले गृहमन्त्री लामिछानेमाथि छानबिनको माग राख्दै प्रदर्शन गर्न बाध्य हुनुपरेको संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताए । पीडितले संघर्षलाई निरन्तरता दिने तथा सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं पुगेर संघीय सदन घेराउ समेत गरिने जनाइएको छ।