प्रहार समाचार । बाग्लुङ,१५ असार २०८१ । गुल्मी र बाग्लुङमा गएको छुट्टा छुट्टै पहिरोमा परि एकै परिवारका तीन सहित पाँच जनाको ज्यान गएको छ। प्राप्त समाचार अनुसार गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।
मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । पहिरोले पुरिंदा ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् ।
पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए । सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
यसै बिच बाग्लुङमा गएराती ३ बजे आएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ ।