प्रहार समाचार । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उनले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ।
अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो । अदालतको संक्षिप्त आदेश आउन बाँकी रहेकाले कुन कुन प्रक्रिया बदर भएको हो खुल्न बाँकी छ । तर माग अनुसारकै रिट जारी भएको छ ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको थियो ।
मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै बदरको माग रिटमा गरिएको थियो ।६० सदस्य प्रदेश सभामा ३० जनाले मत दिँदा सभामुखले बहुमत पुगेको घोषणा गरेपछि उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दायर भएको थियो ।