प्रहार समाचार । काठमाडौँ, २० असार २०८१ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ आज बिहिवार ‘ब्रेक थ्रू’ भएको छ ।
प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग छिचोल्ने कार्यक्रमको अवलोकन गरे ।
त्यस अबसरमा बोल्दै उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिएका छन् । सो अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीहरूको उपस्थिति रहेको थियो ।
यस्तै, गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ किलोमिटर ६३३ मिटर लम्बाइको सुरुङमार्ग र गत जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ किलोमिटर ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएको आयोजना ले जनाएको छ।