हाम्रा भानु गए उदार मनले लेखेर रामायण
पढ्दा काव्य सधैंं भुलिन्न उनले बाधा सहेका क्षण
माटामा पसिना भिजेर उनको रम्घा चुँदी फाँटमा
जन्मे आज सयौं नयाँ कविहरू साहित्य आकाशमा ।१।
तिम्रा सन्ततिका मुहार हँसिला गाएर रामायण
भाषा बन्न गयो सुरम्य रसिलो पाएर रामायण
राम्रो तीर्थ बन्यो चुँदी हरघडी सम्झेर आफ्नो जिमी
धेरै लेख्न अझै छ हेर कविता फर्केर आऊ तिमी ।२।
फुल्दैछन् लहरा र फाँट हरिया बाली झुलेका कति
इच्छा धेर भए सबै पर गए ती भानुका सन्तति
त्यो संस्कार रहेन आज दुनियाँ अर्कै भएको छ नि
बोकी आज सयौं सपाट सपना हास्नै पर्यो तैपानि ।३।
गाडी गूड्छ यहाँ समस्त जनता बेसी झरेका सबै
सम्झी भानु सधैंं अठोट बटुली लागी परेका सबै
संस्था यो कटिबद्ध बन्छ कविको जप्दै सदा नाम त्यो
वाचा गर्दछ है गमेर मनमा थालेर नै काम त्यो ।४।
बाँकी छन् कति लेख्न काव्य कविता हे भानु आऊ तिमी
सम्झन्छन् जनले सधैंं भुवनमा धर्ती उठाऊ तिमी
पाखा पर्वतमा नदी तटविषे माया नयाँ लाउन
साँच्चै भानु तिमी कता लुकिगयौ फर्की यहाँ आउ न ।५।
( भण्डारीको यो कविता २११ औं भानु जयन्तीका अवसरमा असार २८ गते आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा भएको खुला कविता प्रतियोगितामा प्रथम भएको थियो। ) सम्पादक