प्रहार समाचार । उदयपुर, चैत १ विहिवार ।उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा भएको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । एकजना घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प)मा उपचारका क्रममा मृत्यु भएसँगै संख्या आठ पुगेको हो ।
हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख रमेश थापाले बताए । अन्य मृतकको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बोलेरोमा सवार रहेका चालक हतुवागढी–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई र उनका ६ महिनाको छोरा डिसाङ राई छन् ।
यस्तै हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, वडा नम्बर ५ की ३० वर्षीया रामकुमारी राई, र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकारीको पनि घटनास्थलमा मृत्यु भएको छ ।सुनसरीेको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो बिहीवार बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय विशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० वर्षीया मिनु राई र सोही स्थानकी ३६ वर्षीया सावित्रा राई घाइते भएका छन् । यस्तै हतुवागढी–२ की ३२ वर्षीया शान्ति राई र हतुवागढी–१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार, इटहरी–१७ सुनसरीकी ३४ वर्षीया गायित्री कटवाल, उनकै ८ वर्षकी छोरी निकिता कटवाल र इटहरी–१७ की २९ वर्षीया रमा थापाको घोपा क्याम्पमा उपचार भइरहेको छ । -लोकान्तर बाट