प्रहार समाचार । तनहुँ, माघ १३ शनिबार । तनहुँको व्यास नगरपालिका वडा नं- १ मा रहेकोआदिकवि भानुभक्त क्याम्पसमा शिक्षण अभ्यास समितिकाे आयोजनामा स्नातक तह चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
शुक्रवार भएको अभिमुखिकरणमाअभ्यास शिक्षणमा ध्यान दिनुपर्ने विषयहरूका बारेमा भएको थियो। अभ्यास समितिका संयोजक लालप्रसाद भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले र सहायक क्याम्पस प्रमुख डा. राम कुमार अधिकारीले शिक्षण अभ्यासमा जाने विद्यार्थीहरूले तोकिएको विद्यालयमा गएर शिक्षण अभ्यास गर्दा ध्यान दिनुपर्ने विषयहरूको बारेमा चर्चा गरे।
१ सय २४ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूमाघको १४ गतेबाट २९ गतेसम्म तोकिएको विद्यालयमा विद्यालय शिक्षणमा जाने छन् । क्याम्पसले ती विद्यालयहरूलाई पत्राचार गरी शिक्षण अभ्यास कार्यमा सहयोग गर्न अनुरोध गरेको छ। विद्यार्थीहरूले शिक्षण अभ्यासमा जानु पूर्व पाठ योजनाहरूको तयारी तथा सूक्ष्म शिक्षण र सहपाठी मूल्याङ्कन पनि गरेको बताइएको छ। विद्यार्थीहरुले सम्बन्धित विद्यालयमा १५ दिनसम्म कम्तीमा १५ वटा कक्षा शिक्षण गर्नेछन्। उनीहरुले आफुले शिक्षण अभ्यास गरेको विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक तथ्याङ्कहरू समेटिएको एक विद्यालय प्रतिवेदन तयार पार्ने क्याम्पसले जनाएको छ।
त्यसैगरी उनीहरूले सो अवधिमा आफूले शिक्षण गर्ने विद्यालयमा प्रश्नपत्र तयारी, क्यालेन्डर निर्माण र अतिरिक्त शैक्षिक क्रियाकलापको आयोजना जस्ता कार्यहरु गर्नेछन् । उनिहरुको क्याम्पसको सम्बन्धित विषय शिक्षकबाट आन्तरिक र त्रिभुवन विश्वविद्यालय बाट तोकिएको सुपरिवेक्षकबाट बाह्य मूल्यांकन हुनेछ।