विगत स्थानीय र संसद्को चुनावमा नेपाली राजनीतिले केही नयाँ अनुहारहरू स्वतन्त्र र पार्टीको रूपमा देख्न सफल भयो । भारी मतान्तरको जितसँगै ती नयाँ अनुहारहरूले स्वतन्त्र र पार्टीको रूपमा पुराना राजनीतिक शक्तिहरूलाई सङ्कटमा पार्दै र पुराना पार्टीको सङ्गठनको बारेमा गहिरोसँग सोच्न बाध्य बनाएको छ । मूलधारका परम्परावादी दलहरूले पाएको प्रहार यति भयङ्कर थियो कि यदि उनीहरूले आगामी दिन हरूमा आफू गर्ने गरेको राजनीतिलाई पुनर्विचार गर्दै गहिरो रूपमा परिवर्तन गरेनन् भने उनीहरूको अन्त्य निश्चित हुनेछ भनेर केही राजनैतिक विश्लेषकहरू विश्लेषण गर्छन् ।
अहिले आएको नेतृत्वमा धेरैजसो कुनै पनि पार्टीमा नलागेका र सक्रिय नभएका र केही विभिन्न राजनीतिक तथा सामाजिक संस्थामा अनुभव हासिल गरेका सदस्यहरू सक्रिय रहेका राजनीतिज्ञहरूको उपस्थिति छ । यीबाहेक पनि अरू थुप्रै सम्भावना बोकेका व्यक्तिहरू राजनीतिमा होमिँदै छन् ।
नेपालको राजनैतिक मानचित्रमा स्वतन्त्रहरूको उदयसँगै राजनीतिक क्षेत्रमा फरक किसिमको रचनात्मक बहस सुरु भएको छ । लामो समयपछि जनताहरूले थोरै भए पनि राहत महसूस गर्दै एक किसिमको वैकल्पिक आनन्दको अनुभूति गरेका भए पनि नयाँ दलहरू समेत छोटो समयमा नै विवादित हुन पुगेका छन् ।
३४ वर्षसम्म एकछत्र राजनीति गरेका यी मूलधारका दलहरूले दिएका झूटा आश्वासन, ठगी र नातावाद/कृपावादबाट नागरिकहरू दुःखी र थकित भएका छन् भने अर्कोतिर केही नेपाली नागरिकहरू आफ्नै जीवनकालमा परिवर्तन सम्भव छ भन्ने आशामा बाँचेका छन् र, ती परिवर्तनहरू प्राप्त गर्न सकिन्छ भनेर देखाउन चाहन्छन् । जनताको जीवनमा प्रभाव पार्न नसकेका राजनीतिक विचारधाराहरूबाट थाकेकाहरूको माझ बालेन, गोपी हमाल, हर्क साम्पाङ र रास्वपा परिवर्तनको वाहक बनेर आएता पनि छोटो समयमा नै एकपछि अर्को काण्डले बिस्तारै नागरिकहरूको आशालाई विलीन तुल्याउँदै गएको महसूस हुँदैछ ।
कतिपय राजनीतिक पण्डितहरूले नयाँ पार्टीहरूलाई पपुलिस्ट हुन यिनीहरू केही समयपछि आफैं विस्थापित हुन्छन् भन्ने गरेका छन् । तर, नेपालको राजनीतिक इतिहास हेर्ने हो भने आजसम्म सबै पार्टीहरू आफ्ना Populist एजेन्डाले नै सरकारमा जान सफल भएको देखिन्छ । पुराना पार्टीहरूले आफ्नो विचारधारालाई समयसान्दर्भिक बनाउन नसक्नु, बदलिँदो परिस्थिरमा समाजका मुद्दाहरू र प्राथमिकताहरू परिवर्तन गर्न नसक्नु, नयाँ यथार्थसँग समायोजन नगरीकन उही पुराना विचारधारालाई जबर्जस्ती लाद्न खोज्नुले नै उनीहरूको सान्दर्भिकता हराउन मद्दत गरेको छ ।
८० वर्ष भन्दा अगाडि खोलिएका पार्टीहरूलाई अहिले पनि तिनै पुरानै नेताहरूले विरासत धानेर राखेका छन् । नयाँ, सक्षम नेतृत्वलाई अगाडि नबढाउँदा नयाँ पुस्ताहरूसँगको सम्बन्ध गुमाइरहेको अवस्था छ । विगत ३४ वर्षमा पुराना पार्टीहरूले आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिएर केवल सत्ता या पदको दुरुपयोग गरिरहेका छन् । आफ्नै पार्टीको राजनैतिक विचारधारामा अडिग हुन नसक्ने पार्टीप्रति जनतामा असन्तुष्टि र विश्वासको सङ्कट उत्पन्न भएको छ ।
पुराना पार्टीहरू विभिन्न गुटमा विभाजित छन् । गुटबन्दीले आन्तरिक कलहले पार्टीलाई विभाजन गरेको छ । पुराना पार्टीसँग कार्यकर्ता भए पनि सङ्गठनात्मक संरचना बिस्तारै कमजोर हुँदै गएको देखिन्छ । विभिन्न कारणले थाकेका नागरिकहरू ताजा मुद्दा र नयाँ दृष्टिकोण लिएर आउने व्यक्ति वा पार्टीलाई मौका दिन चाहन्छन् । नयाँ पार्टीहरूलाई विशेषगरी युवा र परिवर्तन चाहने मतदाताहरूको समर्थन छ ।
अहिले रहेका पुराना पार्टीहरूले नयाँ पुस्ताको समस्या र चाहनालाई सम्बोधन गर्ने ठोस नीति वा कार्यक्रम ल्याउन नसकेको अवस्था छ । अर्कोतिर पुराना पार्टीहरूले बारम्बार शासन गर्दा भ्रष्टाचार, कुशासन र असन्तुष्टिदेखि रहेका नयाँ पुस्ताले नयाँ विकल्प खोजिरहेको छ । त्यस्तो विकल्प जसले सुधार र परिवर्तनको आश्वासन दिन सक्छ । त्यसका लागि नयाँ नेतृत्वसँग नयाँ मुद्दाहरू, विचारहरू र नीति कार्यक्रमहरू अगाडि सारेको हेर्न चाहन्छन् । विशेषगरी युवा वर्गलक्षित ताजा दृष्टिकोणले पुराना समस्याहरूलाई नयाँ तरिकाले सम्बोधन गर्ने सम्भावना देखाउँछ ।
हुन त केही नयाँ पार्टीका नेताहरूमा पारदर्शित नदेखिएता पनि नागरिकहरू अझै नयाँ पार्टीहरूको नेतृत्वमा नयाँ, ऊर्जावान् र पारदर्शी नेताहरू आउन र उनीहरूले सुधारको प्रतिज्ञा गरून् भन्ने इच्छा राखेका छन् । नयाँ पार्टीहरूले जहिले पनि पुराना पार्टीहरू जसलाई हामी स्थापनावादी पनि भनिन्छ उनीहरू लामो समयदेखि शक्तिमा रहेको तर नागरिकका समस्याहरूलाई समाधान गर्न नसकेको कारणले स्थापनावादी प्रवृत्तिको विरुद्धमा विद्रोह गर्न चाहन्छन् ।
अबको राजनीति भनेको नागरिकमुखी, विकासमुखी हुनुपर्छ । जसले शिक्षा, स्वास्थ्य, रोजगारी वा सामाजिक न्यायलाई केन्द्रित गरेर जनतामा विशेष अपिल गर्न सक्छन् त्यही पार्टीहरूलाई जनताले मन पराउनेछन् । जब नेतृत्वमा विश्वास हराउँछ तब जनताहरू समाजलाई योगदान दिने मुक्तिदाता खोज्न थाल्छन् । विश्वास त्यस्तो चीज हो जुन परिणाम र प्रक्रियाहरूमार्फत निर्माण हुन्छ । विभिन्न परिवर्तनका बाबजुद नेपाली नागरिकहरूले अहिले पनि एउटा मुक्तिदाता खोजिरहेका छन् । झन्डै चार दशकदेखि नेपाली जनताहरू वामपन्थी र दक्षिणपन्थी दर्शनको चपेटामा परिरहेका छन् । मूलधार पार्टीहरू सिद्धान्त रटेर/रटाएर जनतालाई भ्रममा पार्दै शासन चलाइआएका छन् । सरकारमा जानकै लागि विभिन्न अनैतिक गठबन्धन गरेको र जनताका समस्याहरू समाधान नगरेको पाइन्छ ।
बिगारिएको राजनीतिक व्यवस्थालाई सपार्नको लागि, लड्नको लागि नागरिकहरूले नयाँ नेतृत्व खोजिरहेका छन् । नेपाली जनतालाई परेको समस्या र त्यसको सत्यताको पक्षमा बोलेर मौनता तोड्दै आवाजविहीनलाई आवाज बनिरहेको छ । समाज समृद्ध भयो भने समृद्ध समाजबाट फाइदा लिने यही देशका नगरिक नै हुन् र, समाज समृद्ध बनाउन लड्नुपर्छ, आवाज उठाउनुपर्छ । यदि नागरिकहरूले आवाज उठाएनन् भने केही मुट्ठीभर व्यक्तिहरूले जनतामाथि सदैव राज गरि नै रहन्छन् । त्यसैले आ-आफ्नो क्षेत्रबाट समाज रूपान्तरण गर्नको लागि आवाज उठाउनुपर्छ र लड्नुपर्छ । यो नै अबको राजनीतिको मूल मन्त्र हुनुपर्छ र यो मन्त्रले जनतालाई उक्साइरहेको छ ।
आजसम्म हाम्रो लोकतन्त्र पाँच वर्षमा एक पटक निर्वाचन गराउनमा मात्र सीमित छ । लोकतन्त्रको आधार सङ्ख्यात्मक भन्दा गुणात्मक क्षेत्रमा हुनुपर्छ । हाम्रो लोकतन्त्रले शासन प्रणालीको रूपमा जनताबाट विश्वास गुमाउँदै गएको छ, राजनीति बिगार्नु र राजनीतिज्ञहरूलाई दोष लगाउनु पनि कहीँ न कहीँ यो प्रणालीको दोष छ भन्ने कुरामा जनता विश्वस्त छन् ।
नयाँ आउने पार्टीहरूलाई राजनैतिक भविष्य सोचेजस्तो सहज भने छैन । उनीहरूको लागि अगामी दिनहरू कष्टकर हुनेछन् । जनस्तरमा आधारित सङ्गठन र कार्यकर्तामा आधारित सङ्गठनहरू बीचको मीठो अर्थपूर्ण अस्तित्व खोज्न नयाँ पार्टीहरूलाई त्यति सहज छैन । नयाँ पार्टीलाई बलियो पार्टी बनाउनु नै आगामी दिनमा सामना गर्ने सबैभन्दा ठुलो चुनौती हुनेछ । कुनैपनि पार्टीको सफलता र असफलता उसले पाउने भोटले निर्धारण गर्छ भने, चुनावमा पाउने भोट उनीहरूको सङ्गठनमा निर्भर गर्छ ।
पार्टीहरूले आफूलाई वैकल्पिक उदारवादी लोकतान्त्रिक पार्टी बनाउनको लागि अघि बढिरहेको छ । गाउँ-गाउँमा सङ्गठन गर्न उनीहरूलाई अनगिन्ती समय खर्च गर्नुपर्ने छ । नेपाली राजनीतिमा मतदाताको अपेक्षा पूरा गर्नु सजिलो काम होइन । वर्षौंदेखि जनताले समर्थन गर्दै आएका मूलधारका पार्टीहरूको सङ्गठन चिर्दै स्थानीय तहमा चुनावमा धरै भोट ल्याउन सक्ने वातावरण सृजना गर्न सक्ने नयाँ इमानदार नेताहरू उत्पादन गर्न त्यति सहज छैन । पार्टी स्थापना गर्दै नेता बन्ने होडबाजी हाम्रो समाजमा धेरै नै भेटिन्छ । नयाँ पार्टीले नेता त बनाउला तर उनीहरूले चुनावमा कति भोट ल्याउन सफल हुन्छन् त्यसले उनीहरूको नेतृत्व दर्शाउने छ ।
समय व्यवस्थापन, ज्ञान व्यवस्थापन र प्रतिभा व्यवस्थापन अहिलेका मूलधार पार्टीहरूमा छैन । यी तीन बुँदाहरू वैज्ञानिक सङ्गठन व्यवस्थापनको लागि ठुलो सम्पत्ति हुनेछ । सबैभन्दा ठुलो ब्यक्तिको नैतिकता हो । असल व्यक्तिले असल समाज सृजना गर्छ, असल समाज सृजना भयो भने असल समृद्ध देश बन्छ । अबको दिनमा नयाँ आउने पार्टीले वैदिक लोकतन्त्रलाई महत्त्वपूर्ण घटकको रूपमा जोड्नुपर्छ ।
आफ्नो समाजको विकास र समृद्धिको सपना देख्ने र जनताको वास्तविक प्रतिनिधित्व गर्ने लोकतन्त्रमा आफ्नो आशा राख्ने जनतामा भ्रम फैलाउने राजनीतिक खेलबाट जनता थकित भएका छन् । समाज रूपान्तरणका लागि नेपाललाई थुप्रै नयाँ राजनैतिक अनुहार र पार्टीहरू चाहिन्छ जसले पुराना परम्परावादी सोच राख्ने असफल भएका राजनैतिक पार्टीहरूलाई विस्थापित गर्न सकोस् ।
राजनीतिक दलहरूबीचको स्वस्थ प्रतिस्पर्धाले लोकतन्त्र सुदृढ हुन्छ । सुदृढ लोकतन्त्र जनताको समृद्धि र शान्तिको केन्द्रबिन्दु हो । वर्षौंदेखि बिग्रिएको राजनैतिक संरचनालाई सही दिशामा ल्याउन के नयाँ पार्टीहरू साँच्चै सक्षम हुनेछन् त ? नेपालको अहिलेको राजनीति ‘गणेश मोडल’मा चलेको छ । ‘कुमार मोडेल’ सजिलो छैन, मेहनत चाहिन्छ । नेताकै वरिपरि घुमेर पद पाइने भएपछि संसार किन घुम्ने ? के अब आउने पार्टीले राजनैतिक मोडल परिवर्तन गर्न सक्लान् ? नयाँ पार्टीको भविष्य कस्तो हुन्छ त्यो त समयले नै बताउला तर नेपालका अधिकांश नागरिक यो राष्ट्रको उन्नतिको लागि नयाँले केही गर्नेछ भन्ने कुरामा भने आशावादी बनेका छन् । – घटना र विचार साप्ताहिकबाट