हेडलाईनव्याससमाचारगण्डकीसबै प्रदेश

आज व्यास जयन्ती तथा गुरु पूर्णिमा मनाइँदै

प्रहार समाचार । तनहुँ ६ साउन २०८१ आईतबार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।

चार वेद १८ पुराणका रचयिता भगवान वेदव्यासको पावन भूमि तनहुँको दमौलीमा पनि आज विभिन्न कार्यक्रमका साथ गुरु पूर्णिमा मनाइने भएको छ।
यसै अवसरमा “बिश्व ब्राह्मण्डमा शान्ति होस , सम्पुर्ण आत्माको कल्याण होस् ” भन्ने मूल नाराले स्थापित व्यास ज्योति साधक परिवार दमौलीले   ‘पहिलो डाक्टर आफै बनौ, स्वस्थ बनौ निरोगिताको साथ जीवन बाचौ ‘ भन्ने नाराका साथ अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ।
भान्साघरलाई पहिलो औषधालय बनाऔं र जीवनलाइ सुख, शान्त, सम्बृद्व र आनन्दित बनाऔं’ भन्ने अभियानका साथ खानपान र जीवनशैली सम्बन्धि अभिमुखिकरण कार्यक्रम दिउसो २ बजे साधकपरिवारको आश्रम हल
ब्यास – २ दमौलीमा आयोजना गरिने संस्थाका अध्यक्ष गणेशचन्द्र बस्नेतले बताए ।

 


गुरु पूर्णिमा तथा व्यास जयन्तिकै अवसरमा व्यास नगरपालिकाले आज विशेष कार्यक्रम गर्ने भएको छ भने आज नगरपालिका भरि सविजनिक बिदा दिएको छ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । 
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । 

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसैदिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन्–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् । 
 परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरुपूर्णिमा पर्व मनाउने जनाइएको छ । आजकै दिन आफ्ना गुरुहरुलाई सम्मान गर्ने प्रचलन पनि रहेको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button