प्रहार समाचार । तनहुँ ,कात्तिक ६ ।
आज दशैंको नवौं दिन अर्थात महानवमी । शक्तिस्वरुपा सिद्धिदात्री देवीको पूजा अर्चना गर्दै विशेष रुपमा मनाइदैछ । नवरात्रको नवौं दिन ‘सिद्धिदात्री’ स्वरूपा दुर्गाको पूजाआराधना गरिन्छ। नामअनुसार सिद्धिदात्री देवीका सम्पूर्ण अंगहरू दिव्य कान्तियुक्त हुन्छन् भनिएको छ।
नाना प्रकारका रत्नजडित अमूल्य आभूषण धारण गरेकी, चार हात भएकी, कमल तथा सिंहको आसनमा विराजमान देवीको पूजाआराधनाबाट सर्वसिद्धि प्राप्त हुने विश्वास रहेको छ। देवीभागवतका अनुसार, भगवान् शिवजीले उनकै कृपाले सम्पूर्ण सिद्धि प्राप्त गरेका थिए र अर्धनारीश्वर रूपमा शिवजी प्रसिद्ध भएका थिए।
सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारका सुगन्धित पुष्प, नरिवल र गुलिया परिकार अधिक प्रिय भएकाले चढाउने गरिन्छ। नवौँ दिन नवमी पर्वका रुपमा मनाउने गरिन्छ ।
यो दिन विशेष गरेर काठमाडौँको तलेजु भवानीको पूजाअर्चना गरिन्छ भने घरघरमा देवी माताको पूजाआराधना गर्ने प्रचलन पनि रहेको छ । आफूले वर्षभरि प्रयोगमा ल्याउने सवारीसाधनहरुको समेत पूजा गर्ने प्रचलन पनि छ ।
यस दिन दैनिक कन्या पूजा गर्नेहरूले दस वर्षकी कन्यालाई र सुरुदेखि कन्यापूजा नगर्नेहरूले नौवटी कन्याको पूजा, विश्वकर्मा पूजा, कलकारखाना तथा मेसिनपूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ ।