प्रहार समाचार । काठमाडौँ, मंसिर ३० शनिबार ।
प्याजको मूल्य आकासिएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) विवादले व्यवसायीले गत मंसिर १९ देखि प्याज आयात र बिक्री गरेनन् । व्यवसायीले आयात नगर्दा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ६ दिन प्याजको बिक्री मूल्य तोकेन । भ्याटबारे प्रस्ट्याउँदै आन्तरिक राजस्व विभागले नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुमा भ्याट नलाग्ने जनायो ।
आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीतिअनुसार नेपालमा उत्पादित आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर लाग्दैन,’ विभागको मंसिर २२ को सूचनामा उल्लेख छ ।
त्यही बेला भारतले मंसिर २२ देखि लागू हुने गरी प्याज निर्यातमा बन्देज लगाउने निर्णय गर्यो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार निर्देशनालयले सन् २०२४ मार्च ३१ सम्मका लागि प्याज निर्यात बन्देज गर्ने निर्णय गरेको छ ।
व्यवसायीको हडताल र भारतको निर्यात बन्देजले आम उपभोक्तालाई प्रत्यक्ष मार परेको छ । बजारमा प्याजको मूल्य अचाक्ली बढेको छ । व्यवसायीले स्टककै प्याजमा मूल्य बढाएपछि सर्वसाधारण महँगोमा किन्न बाध्य छन् । साताअघि खुद्रा मूल्य किलोको एक सय रुपैयाँसम्ममा प्याज खरिद गरेका सर्वसाधारणले अहिले दुई सय रुपैयाँभन्दा बढी तिर्नुपरेको छ ।